
काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक्सन रुम’ मा बुधबार आयोजित सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य उपस्थित हुनु अस्वभाविक भएको जानाकारहरूले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ मा बुधबार आयोजित सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्य उपस्थित हुनु अस्वाभाविक भएको जानकारहरूले बताएका छन् । सार्वजनिक ओहोदामा भएका व्यक्तिमात्र सरकारी कार्यक्रममा सहभागी हुने कानुनी व्यवस्था र परम्पराविपरीत शाक्य एक्सन रुममा आयोजित कार्यक्रममा सहभागी हुनुलाई सामान्य मान्न नमिल्ने पूर्वमुख्यसचिव विमल कोइरालाले टिप्पणी गरेका छन् ।



सरकारी कामको गोपनीयताका दृष्टिकोणले समेत सार्वजनिक (सरकारी) ओहोदामा नरहेकी शाक्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय होस् या कुनै पनि सरकारी औपचारिक बैठकमा सहभागी हुन नमिल्ने उनले बताए । ‘प्रधानमन्त्रीसँग प्रधानमन्त्रीपत्नी भ्रमणमा जानु सामान्य हो । तर सरकारी कार्यक्रममा प्रधानमन्त्रीपत्नी उपस्थित हुन मिल्दैन, यो बढ्तै भयो,’ कोइरालाले भने ।

सार्वजनिक पदमा नरहेको व्यक्तिसमेत सरकारी कार्यक्रम र बैठकमा सहभागी हुन पाउने हो भने सरकारी कामको गोपनीयता नै नरहने र सरकारी कार्यविधिको कुनै अर्थ नरहने टिप्पणीसमेत कोइरालाले गरे । ‘सरकारी कार्यविधिमा नै सरकारको औपचारिक कार्यक्रम र मिटिङमा सार्वजनिक ओहोदामा रहेका व्यक्तिमात्र सहभागी हुन पाउने व्यवस्था छ,’ उनले भने ।
अर्का पूर्वमुख्यसचिव सोमलाल सुवेदीले समेत सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्रीपत्नी सहभागी हुन नमिल्ने बताए । ‘प्रधानमन्त्री कार्यालयमा बनेको एक्सन रुम हेर्न सर्वसाधारणले त मिल्छ भने प्रधानमन्त्रीपत्नीले नमिल्ने भन्ने कुरै भएन । तर सरकारी औपचारिक कार्यक्रम र मिटिङमा सरकारी ओहोदामा नरहेको व्यक्ति सहभागी हुन मिल्दैन,’ सुवेदीले भने ।
प्रधानमन्त्री केपी ओलीले बुधबार एक्सन रुममा आयोजित कार्यक्रमबाट भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट गौरवका आयोजनाहरूको प्रगति विवरणबारे प्रत्यक्ष जानकारी लिँदै आयोजना समयमै सक्न निर्देशन दिएका थिए । एक्सन रुममा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी शाक्य प्रधानमन्त्री ओलीसँगै सहभागी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा टेलिप्रिजेन्स प्रविधिबाट राष्ट्रिय गौरवका २३ वटै आयोजनाको प्रत्यक्ष निगरानी गर्न एक्सन रुम बनाइएको हो ।
प्रधानमन्त्री, मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले एक्सन रुममै बसेर गौरवका सबै आयोजनाका प्रमुखसँग भिडियो संवाद गर्न र निर्देशन दिन सकिन्छ, आयोजनास्थलहरूको कार्यप्रगति सिधै हेर्नसमेत सकिन्छ । एक्सन रुम र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच भिडियो कन्फरेन्स गर्न सकिने व्यवस्था गरिएको छ । त्यहाँबाट प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसित सिधै छलफल गर्न सक्छन् ।यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।