काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो । विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो ।

महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया पुर्‍याएर ‘क’ ब्लकमा पाँचजना बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन् ।

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि चार महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए ।

सुडान घोटाला प्रकरणमा ०७४ वैशाख१७ मा दोषी ठहर भएपछि सम्पर्कविहीन उनी दुई वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए । ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।

को–को छन् ‘भीआईपी’ कैदी ?

डोलबहादुर कार्की (पूर्वसांसद)रमेशचन्द ठकुरी (पूर्वआईजीपी)रेशमलाल चौधरी (सांसद)रञ्जनकुमार कोइराला (सशस्त्रका पूर्वडीआईजी)कृष्णबहादुर महरा (पूर्वसभामुख तथा सांसद)पहिले को–को बसेका थिए ?प्रदीपजंग पाण्डे (पूर्वअध्यक्ष, नेउवा महासंघ)श्यामसुन्दर गुप्ता (पूर्वमन्त्री)खुमबहादुर खड्का (पूर्वमन्त्री)चिरञ्जीवी वाग्ले (पूर्वमन्त्री)ओमविक्रम राणा (पूर्वआईजीपी)हेमबहादुर गुरुङ (पूर्वआईजीपी)सञ्जयकुमार साह (पूर्वराज्यमन्त्री)श्यामसिंह थापा (पूर्वएआईजी)रविप्रताप राणा (पूर्वएसएसपी)दीपकसिंह थाङदेन (पूर्वएआईजी)हर्कराज पन्त (सशस्त्रका पूर्वडीएसपी)दीपककुमार श्रेष्ठ (पूर्वडीआईजी)बालकृष्ण ढुंगेल (पूर्वसांसद)जयप्रकाशप्रसाद गुप्ता (पूर्वमन्त्री)राजीव गुरुङ (गण्डकी प्रदेश सांसद)सियाराम कुशवाहा (गाउँपालिका अध्यक्ष)

अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । ‘कैदीको चाप कम छ, लोकेसन पनि उपयुक्त ठाउँमा छ । भेटघाट सुविधा सहज छ,’ उनले भने, ‘केन्द्रीय कारागार, नख्खु वा कैदीबन्दीको चाप कम भएका अन्य कारागारमा यस्तो सहज अवस्था छैन । त्यसैले कैदीबन्दीको रोजाइ डिल्लीबजार भएको हो ।’

यद्यपि कैदीबन्दीलाई कुन कारागार पठाउने भन्ने अन्तिम निर्णय अदालतबाटै हुने उनले बताए । विभागका अनुसार केन्द्रीय कारागारमा प्रतिदिन कैदीबन्दीलाई भेट्न आउनेको संख्या पाँच सयभन्दा बढी छ । त्यति नै संख्यामा आफन्तसँग टेलिफोन गर्न लाइन हुन्छ । डिल्लीबजार कारागारमा यस्तो झन्झट कम भएको घिमिरेको भनाइ छ ।अकुत सम्पत्ति आर्जनमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वगृहमन्त्री खुमबहादुर खड्काले डिल्लीबजार नै रोजे ।

२०६९ भदौ ६ मा डिल्लीबजार चलान भएकाखड्का १ वर्ष ६ महिना कैद भुक्तान गरेर छुटे । हाल उनको निधन भइसकेको छ । अकुत सम्पत्ति आर्जन गरेको कसुरमा २०६८ फागुन ९ मा सर्वोच्च पुगेका तत्कालीन बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता सोही दिन दोषी ठहर भए । डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ जरिवाना सजाय पाएका गुप्तालाई उनकै आग्रहमा डिल्लीबजार कारागार लगियो । भ्रष्टाचार अभियोगमै पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले डिल्लीबजार कारागारमै बसेर कैद भुक्तान गरे । कान्तिपुर दैनिकबाट