
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गरेकी छन् ।
भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको शनिबार उद्घाटन गर्दै उनले आगामी दिनमा अझै बढी महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुशी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरिन् ।
उनले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गरिन् ।
जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्म सञ्चालन हुनेछ ।