प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा राखिएको छ ।
गएराति पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए । लगत्तै प्रधानमन्त्रीको त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन भएको थियो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
उनका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएकाले शल्यक्रिया गरिएको बताए ।
तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरेको उनले बताए ।
अहिले प्रधानमन्त्री ओलीको सघन उपचार कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको चारपटक डायलासिस भैसकेको छ । पछिल्लो पटक गत आइतबारमात्रै उनको मृगौलाको डायलासिस गरिएको थियो । यसैबीच नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । रातोपाटीबाट