व्यक्तिगत घटना दर्ता गराउन भोलिदेखि वडास्तरमै शिविर राखिने

काठमाडौं । स्थानीय तहस्तरमै व्यक्तिगत घटना दर्ता गराउन पञ्जीकरण विभागले वडास्तरमै शिविर सञ्चालन गर्ने भएको छ । जन्म,मृत्यु,बसाइँसराई,विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता प्रक्रियामा सहभागिता नबढेपछि विभागले वडास्तरमै शिविर राखेर दर्ता गराउन लागेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी वैशाख १ गतेदेखि १६ गतेसम्म देशभरका ६ हजार ७४३ वडामै शिविर सञ्चालन गर्न लागिएको हो । विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार आगामी वैशाख १ गतेदेखि देशैभरका स्थानीय तहका सबै वडामा कम्तीमा ३ स्थानमा व्यक्तिगत घटना दर्ताका लागि शिविर सञ्चालन गर्न लागिएको हो ।

बिज्ञापन

त्यसैगरी सोही शिविरबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नागरिकको निवेदन लिने र व्यक्तिगत घटना दर्ता पश्चात प्रमाणपत्रसमेत दिन लागिएको छ ।

यसअघि वडा कार्यालयसम्म पुग्नुपर्ने भएको कारण कतिपय नागरिकले जन्म,मृत्यु,बसाइँसराई,विवाह र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना समयमै दर्ता गर्ने गरेका थिएनन् । जसका कारण जनसङ्ख्याको आधिकारिक विवरण,सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा समस्या पर्दै आएको थियो । गाउँ र टोलमै पुगेर शिविर सञ्चालन गर्ने भएपछि १६ दिनको अवधिमा धेरैले व्यक्तिगत घटना दर्ता गराउने विभागको अपेक्षा रहेको छ ।

कानुनतः व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै स्थानीय तहमा गराउनुपर्ने व्यवस्था छ । व्यक्तिगत घटना दर्ताले विकासको खाका तयार पार्नसमेत सघाउ पुर्याउने भएकाले समयमै व्यक्तिगत घटना दर्ता गराउन पनि विभागले आग्रह गरेको छ ।

सामाजिक सुरक्षा भत्तामा वार्षिक ७० अर्ब खर्च

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ताका लागि मात्रै वार्षिक ७० अर्ब खर्च हुने गरेको छ । सरकारले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक,६० वर्ष पूरा गरेका एकल महिला,विधवा,पूर्ण अपाङ्गता भएका व्यक्ति,लोपोन्मुख आदिवासी तथा जनजाति,विभिन्न जिल्लाका बालबालिका र अति अशक्त भएकाहरुलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

विभागका अनुसार हालसम्म सामाजिक सुरक्षा भत्ता पाउने जनसङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत रहेको र देशको कुल बजेटको ५ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको छ ।

आगामी मंसिर १ देखि सामाजिक सुरक्षा भत्ता बैंक खातामै

स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गरेको भन्दै आगामी मंसिर १ गतेदेखि सबै स्थानीय तहले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता दिनुपर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरिकले फारम भरी स्वीकृत भएपछि नजिकको बैंकमा खाता खोलेर मात्रै भत्ता लिन पाउनेछन् । तर यदि भत्ता लिन योग्य नागरिकको समयमै घटना दर्ता नगराई बैंकमा रकम पुगेको अवस्थामा उक्त रकम विभागले फिर्ता समेत ल्याउनेछ ।