बिश्वासको मत माग्दै केपी ओलिले के-के भने ?

संसदको सोमबार बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए । उनले अघि भने, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।उनले यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताए ।

बिज्ञापन

भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उनले बताए । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त भएको बताए । प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्तोमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य हुन्न । छानविन हुन्छ, कारबाही हुन्छ ।’ त्यस्तै ओलीले सरकारले गरेका कामको फेहरिस्त राख्दै अविश्वास राख्ने कारण नभएको बताएका छन् ।

विश्वासको प्रस्ताव राख्ने क्रममा सोमबार प्रतिनिधिसभाको बैठकमा उनले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताएका हुन् । विगतमा संविधानको स्वीकार्यता, सर्वग्राहयता प्रश्न उठ्ने गरेको तर अहिले आएर त्यो अवस्थाको अन्त्य आफ्नो सरकारले गरेको ओलीको भनाइ थियो ।

त्यस्तै, राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको उनको भनाइ थियो । ‘आज सिंगो देशमा कसैले पनि विखण्डनको राजनीति गर्दैंन । सर्वभौमसत्ता लगयातका विषयमा अब कुनै विवाद छैन,’ उनले भने, ‘हिंसाको राजनीति अन्त्य भएको छ । यी के ऐतिहासिक र ठूला उपलब्धि होइनन् ? यसैले हेर्दा सरकारलाई विश्वास गर्न नपर्ने कारणै छैन ।’ अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सुन्न सकिने बनाइएको भन्दै ओलीले सरकारलाई कुनै पनि क्षेत्रमा विश्वास नगर्नुपर्ने कारण नरहेको बताए ।

संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्न सकिने पनि ओलीको भनाइ थियो । ‘देशलाई अगाडि बढाउन औचित्यपूर्ण समायानुकूल ढंगले संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकार सबैसँग छलफल गर्न, मस्यौदा बनाउने सन्दर्भमा सुझावका लागि एउटा कार्यदल पनि बनाउन सकिन्छ,’ उनले भने । ओलीले पूराना अपराधका दोषीलाई कारबाहि गरिएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । केही योजनामा सफलता मिल्न ढिलाइ हुँदा बढाइचढाइ गरेर सरकारको विरुद्धमा प्रचा गरिएका ओलीको भनाइ थियो । राजनीतिक खिचातानीका विषय आफूले राख्न नचाहेको पनि ओलीको भनाइ थियो । पार्टी कहिले विभाजन होला भनेर तान्ने र ठोक्ने काम भएको पनि उनले बताए ।

उनले मेलम्चीको पानी काठमाडौं ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र बसन्तुपरको पुनर्निर्माण गरेको र दैनिक ६ कलिमोटर बाटो पिच गरिएको पनि दावी गरे । ओलीले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत पाउने विश्वास रहेको बताका हुन् । उनले अहिलेको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले समेत अन्तिम समयसम्म विश्वासको मत कायमै राखेको भन्दै अहिले पनि समर्थन गर्न आग्रह गरे । उनले राजनीतिमा कहिलेकाँही भनाभन भएपनि अहिले विश्वासको मत पाउने आशा रहेको बताए । उनले भने, ‘राजनीतिमा कहिले कहिले भनाभन पनि हुँदोरहेछ । कोही साथीले के भन्ने कोहीले के भन्ने अनि मैले पनि अलिअलि भनेहुँला ।’

माओवादी केन्द्रले संसद पुन:स्थापना भएको लामो समयसम्म पनि विश्वासको मत कायमै राखेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘पार्टी अलग भएर पनि विश्वासको मत फिर्ता लिनुभएन । मैले आफैँले विश्वासको मत लिन्छु भनेपछि बल्ल समर्थन फिर्ता लिनुभयो । कुनै दलले विश्वासको मत नदिने निर्णय नै गरेर आएको भएपनि संविधानको धारा १ सय १ को उपधारा १ बमोजिम संसदको विश्वासको मत माग्न चाहन्छु ।’ आफ्नो नेतृत्वको सरकारले गरेका काम हेरेर पनि विश्वासको मत दिने आशा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस सदनले म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ? हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ । फोन पनि गर्दैन प्रधानमन्त्रीले भनेर अलिअलि रिस थियो, कि ? मैले कामले नभ्याएर हो कसैलाई फोन नगरेको । यस सदनले ३ वर्षभन्दा बढी प्रधानमन्त्रीको हैसियतमा रोष्ट्रममा उभिएको छु । यही सदनको विश्वासले फेरि पनि म रहनेछु ।’