काठमाडौँ — ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।
दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ। भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ।
दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो। कार्यवाहक राजदूत अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे। कार्यवाहक राजदूतले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाए।
भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता समेत गरेको छ। विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ।
दिवसका अवसरमा इन्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए।