
चितवन :महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रवृति बढेको बताए ।




जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज शिलान्यास गर्दै अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए ।

५ वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा २ हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो ।
१ सय ५० वटा मुद्दालाई हेर्न एक जना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उनले बताए । उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा थियो ।
कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उनले यसलाई सुधार गृहको रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नायव महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एसाेसिएसन चितवनका अध्यक्ष कमल पाठकलगायतले बालेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ । विसं २०७८ मङ्सिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ ।
साढे तीन तले अपाङ्गमैत्री भवनमा २४ कोठा हुनेछन् । थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ । रासस