रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा : निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।

यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरूद्व भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिज्ञापन

बिरामीलाई डोको तथा थुन्छेमा बाकेर स्वास्थ्य सस्थामा लेजानुपरेको जनाइएको छ । के–कति किलोमिटर सडक क्षति भयो भन्न एकीन जानकारी भएको छैन । यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँचपास भएका मालबाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।