कार्यालय सचिवले हस्ताक्षर भइसकेको चेकमा अक्षर थप गरेर बैङ्कबाट रकम निकाले
काठमाडौँ । राजधानीस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजको कार्यालय सचिवलाई प्रहरीले कीर्ते गरी बैङ्कबाट रकम निकालेको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले कीर्ते गरी बैङ्कबाट रकम निकालेको आरोपमा ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो ४ बजे पक्राउ गरेको हो ।

ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजकै कार्यालय सञ्चालनका लागि भन्दै ६७ हजार ९१६ रुपैयाँ निकाल्न चेक जारी भएकोमा उक्त रकमको अगाडि अंक थप गर्दै उनले २० लाख ६७ हजार ९१६ रुपैयाँ निकालेका थिए ।

बिज्ञापन

यसरी निकालियो रकम

गत पुस ९ गते सिद्धार्थ बैंक कुलेश्वर शाखामा चेक नम्बर ००२१४२२५५३१८०१ बाट ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव घिमिरेले कीर्ते गरी २० लाख रुपैयाँ निकालेका थिए । कार्यालय प्रयोजनका लागि कार्यालयकै खाताबाट ६७ हजार ९१६ रुपैयाँ निकाल्न चेक जारी गरिएको थियो । चेक आफैँले तयार पारेका कारण उनले कीर्ते गर्नका लागि रकमको परिमाण लेख्ने स्थानमा अघिल्तिर केही स्थान खाली छाडेका थिए ।

चेकमा हस्ताक्षर गराइसकेपछि उनले ‘६७,९१६’ रुपैयाँ लेखिएको अगाडिपट्टी राखेको खाली स्थानमा ‘२०’ थपेर ‘२०,६७,९१६’ बनाएको र अक्षरमा समेत त्यसैगरी रकमको परिमाण थपेको पाइएको छ । खातामा २० लाख रुपैयाँको हिसाब गोलमाल भएपछि ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजले महानगरीय प्रहरी बृत्त कालीमाटीमा निवेदन दियो ।

डिएसपी रुगम कुँवरको नेतृत्वमा अनुसन्धानमा जुटेको टोलीले उक्त कार्यालयका कार्यालय सचिव सन्तोष घिमिरेबाटै कीर्ते भएको ठहर गर्दै उनलाई बल्नुस्थित डेराबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनको डेराबाट १८ लाख रुपैयाँ नगद बरामद भएको छ । बाँकी रकम भने उनले खर्च गरिसकेको प्रहरीसमक्ष बताएका छन् ।

भोजपुर षडानन्द गाउँपालिका–११ स्थायी घर भएका सन्तोषमाथि आवश्यक कारवाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।