
भोजपुर – भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको ठप्प पारेर साताव्यापी भ्रमण हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगरपालिकाका मेयर कैलासकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधिक, कम्प्यूटर अपरेटरसहित १७ जना भ्रमण हिडेँपछि कार्यालयबाट दिइने दैनिक कामकाजमा समस्या भएको हो ।
गएकाे आइतबारबाट भ्रमणमा गएको भए पनि भ्रमण टोली कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।
कार्यालयका अधिकांश शाखाहरुको कर्मचारीविहीन रहेका छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोबार भने ठप्प छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकीय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भनिए पनि लिखित रुपमा जिम्मेवारी दिएको छैन । यसका कारण आर्थिक कारोबार लगायतका काम ठप्प भएका हुन् ।
इन्जिनियर अरुण हमालले भन्नुभयाे, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर प्रमुख प्रशासकीय अधिकृत सरले लिखित रुपमा जानकारी दिनुभएको छैन ।’
नगर प्रमुख, प्रशासकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिले कति दिनकाे भ्रमण हो भन्ने समेत थाहा नभएको बताएका छन् ।