
सुनसरीको खनारस्थित बाबा फ्लोर मिलमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
उद्योगी सुरेश राठीले सञ्चालन गरेको उद्योगको उत्पादन र बिक्रीको परिमाणमा मेल नखाएको र उत्पादितमध्ये ७० प्रतिशतभन्दा बढी समान भिटिएस बिलबिना बिक्री गरेको आशंकामा विभागको टोलीले छापा मारेको हो ।
उद्योगले उत्पादित वस्तुमध्ये करिब ३० प्रतिशत मात्र भिसिटिएसमार्फत बिक्री गरेको र ७० प्रतिशत सामान नक्कली बिलमार्फत बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको हो ।
टोलीले विराटनगरस्थित कार्यालयमा समेत छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । उद्योगले आफ्नो उत्पादन नारायणघाटसम्म पुर्याउँदा बाटोमा नक्कली बिलमा सामान बिक्री गरेको राजस्व विभागको दाबी छ ।
२५ वर्षदेखि सञ्चालित उद्योगले नक्कली बिलमार्फत करोडौं राजश्व ठगी गरेको विभागको भनाइ छ । उद्योगका म्यानेजर गिरीधारी अग्रवालले टोलीले छापा मारेर भ्याटको रजिष्टर र खातापाताहरु लिएर गएको बताए ।
अग्रवालले विभागले फागुन ११ गते तारिखका लागि बोलाएको जानकारी दिए । उद्योगले आँटा, मैदा, चोकर, सुजीलगायतका वस्तु उत्पादन गर्दै आएको छ ।