साहुकार रामबाबु राय पुनः पक्राउ

सर्लाही बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पुनः पक्राउ गरेको छ ।

 

बिज्ञापन

सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सिआइबीले रायलाई शुक्रबार सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो । पक्राउपछि जिल्ला अदालत काठमाडौंको आदेशमा सिआइबीले उनीविरुद्ध १० दिनको म्यादसमेत थप गरिसकेको छ ।

 

सिआइबीका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत रायलाई पक्राउ गरेर पनि १० दिनको म्याद थप भएको जानकारी दिए । ‘रायलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत सिआइबीले शुक्रबार पक्राउ गरेको हो । उनीविरुद्ध थप अनुसन्धान भइरहको छ,’ उनले भने ।

 

ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायलाई गत २३ पुसमा पक्राउ गरेको थियो ।

 

उनीविरुद्ध सर्लाहीका २८ जनाले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले रायविरुद्ध २५ दिनसम्म गहन अनुसन्धान गरेको थियो ।

 

अनुसन्धानका क्रममा रायले २८ जनाबाट मात्रै २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर रायलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

 

धरौटीबापतको रकम बुझाएर घर फर्कने क्रममा शुक्रबार सिआइबी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रायलाई पक्राउ गरेको हो ।

 

‘रायले अकुत सम्पत्ति कमाएको देखियो । उनीविरुद्ध थप अनुसन्धान गर्नुपर्ने भएपछि जिप्रका सर्लाहीलाई पत्र काटेका थियौँ । सोही पत्रका आधारमा जिप्रकाले रायलाई पक्राउ गरी हामीलाई बुझाएको छ । अहिले उनी हाम्रो हिरासतमा छन् । उनको सम्पूर्ण सम्पत्ति छानबिन हुन्छ,’ सिआइबी प्रवक्ता एसपी पाण्डेले भने ।