
मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १३औं बार्षिकोत्सव आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कलेजले स्वास्थ्य विज्ञानका १३ वटा कार्यक्रमहरु संचालन गरी गुणस्तरीय शिक्षामा योगदान दिएको स्मरण गरे ।
गतवर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको स्मरण गर्दै उनले कलेज व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीलाई धन्यवाद पनि दिए ।
कलेजले एमबीबीएस कार्यक्रम संचालन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले राजनीतिक कारणले कार्यक्रम स्वीकृत नभएको जानकारी गराए ।
उनले व्यवस्थापन समितिसँग छलफल गरेर तत्काल समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले गुणस्तरीय शिक्षा प्रदानगर्ने कार्यमा कलेज सदैव कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।
कलेजका उपाध्यक्ष जीवन प्रकाश शर्माले कलेजको शैक्षिक इतिहास बताउँदै सहकारीबाट संचालित कलेजले भोग्नु परेका व्यवहारिक नीतिगत समस्यावारे अवगत गराए ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रतिनिधि डाकुरनाथ पराजुली र चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा. मन्दिरा वन्तले मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
क्याम्पस प्रमुख प्रा. विष्णु भट्टराईले गुणस्तरीय शिक्षाका लागि कलेज प्रतिवद्ध रहेको भन्दै आगामी दिनमा समेत सवैको सहयोगको अपेक्षा गरे ।
उक्त अवसरमा कलेजको सोभनियर विमोचन गरिनुका साथै २ जना विद्यार्थीलाई मनमोहन स्मृति छात्रवृति वितरण गरिएको थियो ।