
संचारकर्मीहरुलाई घेराबन्दी गरेर कुटपिटसहित संचार सामग्री खोस्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहसहित कुटपिटमा संग्लन कर्मचारीमाथि नेपाल पत्रकार महासंघ धनुषा शाखाले अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
महासंघको जनकपुरधामस्थित कार्यालयमा बसेको संर्घष समितिको बैठकले यस्तो निर्णय गरेको हो । आफूहरुले अघि सारेको मागमा कुनै सुनवाई नभएपछि मुद्दा दर्ता गराउने निर्णय गरिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णको संयोजकत्वमा रहेको संघर्ष समितिले ७ दिनभित्र पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरीत समाचार सम्प्रेषण गरेकालाई कारबाही तथा घटनालाई बढाई चढाई पत्रकारलाई अपहेलित हुने गरी संचार माध्यमविरुद्ध समेत मुद्दा हाल्ने निर्णय गरिएको जनाइएको छ ।
समितिको निर्णय विपरीत समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानबीनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दिपक कर्ण रहेको समिति बनाइएको छ ।
सो समितिले छानबिन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने छ र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ ।
जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्ष र उनकै उपस्थितिमा कुटपिट गरिएको थियो ।
घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटेर अपराधी र गुण्डा लगायतका शब्द प्रयोग गरेको थियो ।
उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहले पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रामाथि कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामाग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो ।
घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो । तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन ।
टोले गुण्डाको रुपमा चर्चित होटेल व्यवसायी धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि जनकपुर उद्योग वाणिज्य संघको दबावमा धरौटीमा जिल्ला प्रशासन कार्यालयले रिहा गरेको थियो ।