सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् ।

 

बिज्ञापन

अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डल राजविराज नगरपालिका–६ बाट पक्राउ परेका छन् ।

 

अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसारिरहेको फेला परेपछि मण्डललाई पक्राउ गरी ट्याक्टर र मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

 

‘चालक मण्डलसँग मदिराको बिल भर्पाई पनि थिएन, लकडाउनको उल्लंघन गर्दै खाद्यान्न सामग्री भनेर खोल्दा विभिन्न ब्राण्डका मदिरा भेटियो’, उनले भने ।

 

ट्याक्टरमा ९० कार्टुन दिलवाले नामक मदिरा, २० कार्टुन एम्बिसन नामक मदिरा र ६ कार्टुन गोल्डहली नामक मदिरा बरामद गरिएको उनको भनाइ छ ।

 

यस्तै २ वैशाखमा सीमानाका बोदे बरर्साइन नगरपालिका–९ स्थित स्वर्णपट्टिबाट लागुऔषधसहित खड्क नगरपालिका–९ का १९ वर्षीय मो आदिजलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका आदिजका साथबाट कोरेक्स तीन बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद् भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिका प्रमुख हिमाल केसीले जानकारी दिए ।