
जनकपुरधाम : प्रदेश २ मा लकडाउनको पालना गराउन अहिले सुरक्षाकर्मीलाई धौ-धौ परेको छ ।




कोरोना भाइरसको संक्रमण विश्वभरी यतिबेला फैलिसकेको छ । यसलाई नियन्त्रण गर्नका लागि अहिलेसम्म कुनै प्रकारको औषधी पनि वैज्ञानिकहरु पत्ता लगाउन सकेका छैनन् ।

त्यसैले अहिलेकोे वर्तमान समयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबैभन्दा उत्तम उपाय सामाजिक दुरि र लकडाउन नै रहेको चिकित्सकहरु बताउ छन् । यस विकल्पलाई विश्वको अधिकांश मुलुक पालना समेत गरिरहेका छन् ।
पद्यपि प्रदेश २ मा लकडाउनको पूर्ण रुपमा पालन भएको पाइँदैन,ग्रामीण भेग झनै अस्तव्यस्त देखिएको छ । सरकारको निर्देशन अनुसार लकडाउन पालन गराउन खटेका सुरक्षाकर्मीहरुलाई कतिपय स्थानमा चुनौतीको सामना गर्नु परिरहेको छ । केही दिन अगाडी लकडाउन पालन गराउन सिरहामा प्रहरीलाई २३ राउण्ड हवाइ फायर नै गर्नु परेको थियो ।
सिरहा नगरपालिकाको पटेर्वामा भीडभाड गरेर बसेका स्थानीयहरुलाई घरभित्र बस्न भनेपछि प्रहरीमाथि आक्रमण भयो र स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गर्नु परेको थियो । घटनामा संलग्न रहेका १३ जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । अन्य फरार छन् भने गाउँ सुनसान छ ।
जनकपुरधामको महाबीरचोकमा पनि प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरले पास देखाउन आग्रह गर्दा उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले उनीसँग झगडा गरि उल्टै उनको मोबाइल नै फोडेका थिए । हुन त कतिपय ठाउँका स्थानीयहरु पनि लकडाउनको नाममा सुरक्षाकर्मीले ज्यादती गरेकोे आरोप समेत लगाईरहेका छन् ।
कतिपय स्थानमा स्थानीयहरुले स्वयं गाउँ प्रवेश गर्ने नाकामा बार लगाएर अपरिचित व्यक्तिहरुको आवतजावत बन्द गरेका छन् । तरपनि अधिकांश स्थानमा लकडाउनको पूर्ण पालन हुनसकेको छैन । जनप्रतिनिधिहरुले समेत लकडाउनको महत्व र आवश्कताबारे जनतालाई बुझाउन नसक्दा यस्तो अवस्था आएको हो ।
कतिपय स्थानमा जनप्रतिनिधिहरु स्वयं लकडाउन उल्लंघन गरी सामाजिक दूरी कायम गरेका छैनन् । कोरोनाका शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइन जनप्रतिनिधिहरुले तामझामका साथ उदघाटन गरेका तस्बिरहरु पनि सार्वजनिक भएका छन् । प्रदेश २ को प्रदेशसभा सदस्य रानीशर्मा तिवारीले केही दिन अगाडी आफ्नो निर्वाचन क्षेत्र महोत्तरीको एकडारा गाउँपालिकामा कोरोना शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइनको रिबन काटेर उद्घाटन गरिन् । क्वारेन्टाइन उदघाटन गर्दा सामाजिक दूरीको कुनै ख्याल गरिएको थिएन् ।
सहभागी अधिकांशले मास्कसमेत प्रयोग गरेका थिएनन् ।आफ्नो चाहना नभए पनि गाउँपालिका अध्यक्षको दबाबमा क्वारेन्टाइनको उदघाटन गर्नु परेको तिवारी बताएकी छिन् ।। अहिलेको संवेदनशील समयमा ‘लकडाउन’ को पालना र सामाजिक दूरी कायम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै वीरगन्जको नारायणी अस्पताल र जनस्वास्थ्य कार्यालय पोखरीया तथा बाराको कलैया अस्पताल एवं जनस्वास्थ्य कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई पिपिई लगायतका उपकरण दिन गएको बेलामा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि सामाजिक दूरीको पालना नै नगरि आफ्ना दर्जनौं नेता कार्यकर्ताका साथ बिचमा देखिएका थिए ।
पूरै देश लकडाउनमा रहेको समयमा यसलाई पालन गराउन सुरक्षाकर्मीहरु दिनरात खटिरहेका छन् । प्रदेशभरी लकडाउन पालन गराउन सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । लकडाउन पालन गराउन प्रत्येक चोकमा ३ जना सुरक्षाकर्मीको समूह बनाएर परिचालन गरिएको उनले बताए ।
यसका अतिरिक्त पेट्रोलिङ्गका लागी प्रदेशभरीमा ८ हजारभन्दा बढी सुृरक्षाकर्मीहरु परिचालन गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार प्रहरी प्रशासन लकडाउन पालन गराउन गम्भिर रहेपनि स्थानीयहरु बिभिन्न बहाना बनाएर लकडाउन तोड्ने गरेको आरोप लगाए ।
जनकपुरमन स्वास्थ्यकर्मीको पास देखाएर २ सयभन्दा बढी व्यक्ति ओहोर दोहोर गर्ने गर्छन् तर अस्पताल तथा क्लिनिकहरुमा चिकित्सकहरु नै नदेख्दा आश्चर्य लाग्छ । सर्वसाधारण नै सामाजिक दुरी तथा लकडाउनकोे महत्व बुुझ्न नसक्दा समस्या सृजना भएको प्रवक्ता सापकोटाले बताए । प्रदेशका १ सय ९ वटै सिमानाकाहरुमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको उनले बताए ।