९ अर्व ५० करोड विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले ९ अर्व ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार मंगलबार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८० च ’ विक्री गर्न लागेको हो ।

ऋणपत्रको व्याजदर पनि बोलकबोलमार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्रमा मङ्गलबार अपराह्न ३ बजे बोलकबोल हुने भएको छ । राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्र २०८० माघ २६ गते परिपक्क हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ ।

बिज्ञापन

उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई रु ८.०७५ अर्ब र अप्रतिस्पर्धीलाई रु १.४२५ अर्ब छुट्याइएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।