
वीरगन्ज– छोरीको हत्या गरेको आरोपमा वीरगन्ज महानगरपालिका १ छपकैयाका २९ वर्षका सन्जय सर्राफ पक्राउ परेका छन् ।
आफनै ७ वर्षकी छोरी अंशु कुमारी सर्राफको हत्या गरेको आरोपमा प्रहरीले सन्जयलाई वैशाख ४ गते नै पक्राउ गरेपनि आईतबार सार्वजनिक गरेको हो ।
पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले सन्जयले छोरीको घाँटी थिचेर गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको बताए ।
२०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुले घरको माथिल्लो कोठामा आत्महत्या गरेकी थिइन् । उनले कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई खबर गरेको उनले बताए ।
झुण्डिरहेको अवस्थामा बाबु सन्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा पु¥याएको र अस्पतालले मृत घोषणा गरेको दाबी गरिएको परिवारको भनाइ थियो । तर, प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।
२०७७ वैशाख ४ गते सन्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको उनले बताए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सन्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको, तर उनको मृत्यु भएको थियो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सन्जयले बाहिर नजानभन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सन्जयले छोरीको घाँटी थिचेका थिए ।
छोरीको मृत्यु भएपछि झस्केका सन्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।