
स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयातमा वृद्धि भएको छ ।




गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका ४ वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए ।
अहिले नाकाबाट निर्वाध रूपमा सामान आयात भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह
सिन्धुपाल्चोकका विभिन्न ५ स्थानीय तहले काठमाडौं वा देशका जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।
खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो छाेडेर हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गर्न सुरू गरेका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रूपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पुर्याउने भएकाले अलपत्र परेका पालिकावासीलाई सम्पर्क गर्न आग्रह गरेका छन् । रासस