सञ्चारकर्मीलाई तलब र सञ्चार क्षेत्रलाई राहत देउ : प्रेस युनियन

नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जर्नाको छ ।

 

युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा सञ्चारगृह अभिभावक बन्नुपर्नेमा केही सञ्चारगृहले यही संकटको अवस्थामा पत्रकारलाई बेतलबी विदा बस्न दबाब दिने, कतिपयलाई जागिरबाटै विदा गर्ने प्रयास हुन निन्दनीय भएको भएको बताएका छन् ।

 

अध्यक्ष दुलालद्वारा जारी गरिएको विज्ञप्तिमा पत्रकारमाथिका यस्ता अमानवीय व्यवहार रोक्न ध्यानाकर्षण गराउँदै अन्यथा जस्तोसुकै कदम चाल्न पनि प्रेस युनियन काठमाडौं तयार रहेको उल्लेख गरिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि नियमित पारिश्रमिक नदिएका सञ्चार गृहलाई श्रमजीवी पत्रकारहरुको बाँकी तलब तत्काल भुक्तान गर्न पनि माग गर्दछ । यो संकटको घडीमा पनि रिपोर्टीङमा सक्रिय पत्रकारहरुलाई आफनो सुरक्षामा ध्यान दिन आग्रह गर्दछौं ।’

 

यस्तै लकडाउनका कारण सञ्चार गृहलाई परेको समस्याका बारेमा पनि बेखबर नरहेको भन्दै तत्काल सञ्चार क्षेत्रलाई राहत र सञ्चारकर्मीका लागि विशेष राहत प्याकेजको घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।