
काठमाडौं : इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आज (शनिबार)बाट शुरु भएको छ । आजदेखि शुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।




हिजरी संवतको नवौं महिनामा शुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
रोजा बिहान ३ः४३ देखि बेलुका ६ः५० सम्म निराहार बस्नुपर्छ । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा शुरु हुने र अन्त्य हुने गर्छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।
यस वर्ष कोरोनाभाइरस (कोभिड–१९)को जोखिमका कारण घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भएपनि कोरोनाको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।