कोरोना भाइरस संक्रमित फेलापरेपछि दमकमा उच्च सतर्कता

दमक :  झापाको दमकमा एकजनामा कोरोना संक्रमण फेला परेपछि यसबाट थप ब्याक्तिहरुमा सरेको हुनसक्ने भएकाले उच्च शर्तकता अपनाएर संक्रमण पहिचान र रोकथाममा नगरपालिका लागेको छ ।

 

बिज्ञापन

यसमा सरोकारवाला सरकारी संयन्त्रहरु पनि लागि परेकाछन् । आज आइतबारदेखि दमक ३ स्थित कोरोना भाइरसको संक्रमण देखिएको स्थानमा स्वाबको नमुना संकलन तथा आरडिटी परीक्षणका लागि १ नं. प्रदेश सरकार र जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको जनाईएको छ ।

 

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङका लागि नगरपालिकाले दमक अस्पतालका प्रमुख डा. खड्कलाल फ्यागु लिम्बूको संयोजकत्वमा चार वटा छुट्टाछुट्टै स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको टोली परिचालन गरिनेछ ।

 

दमक नगरपालिका उपप्रमुख एवं दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिकी प्रवक्ता गीता अधिकारीका अनुसार संक्रमण भएको भए पहिचान र नभएको भए रोकथामका लागि सबै उपाय अवलम्बन गरिने जनाइएको छ ।

 

दमक वडा नं. ३ मा कोरोना भाईरस संक्रमण देखिएको स्थान वरिपरी उत्तरमा मावा पूल देखि बेलडाँगी(१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर, पूर्वमा हिमालय मा.वि. देखि बेलडाँगी(१ सम्म र पश्चिममा मावा खोला सम्म यति चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्णरुपमा निषेध गर्ने गरी जारी गरिएको सूचना सो(स्थानमा नमुना संकलन गरि नतिजा प्राप्त नभए सम्मका लागि कायम रहेको पनि दमक नगरपालिकाले जनाएको छ ।

 

दमक नगरपालिका–४ स्थीत मानसरोवर कलेजको क्वारेन्टाईनमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना, दमक–६ स्थित जामे मस्जिदमा १४ जना गरी ४१ जना क्वारेन्टाइनमा रहेकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हालसालै विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था यस नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी भइरहेको पनि जनाइएको छ ।

 

दमक अस्पतालको आइसोलेसनमा पुरुष १ जना र महिला २ जना गरी ३ जना रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि दमक नगरपालिकाले जनाएको छ ।