लकडाउनको मौका छोपी म्याद गुज्रिएका औषधि बेच्ने दीर्घायु फार्मेसी कारबाहीमा

लकडाउनको मौका छोपी व्यापारी कैफियतपूर्ण कार्य गरेको आशंकामा मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिकालगायतको टोलीले बजार अनुगमन गरेको हो ।

 

मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु कार्यालय विराटनगर संयोजकत्वमा रहेको टोलीले मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद गुज्रिएको औषधि बिक्रीका लागि राखिएको पाइएको छ ।

 

टोलीले लेटाङ बजारमै रहेको उपभोक्ता भण्डार नामको खाद्यन्न पसलको समेत अनुगमन गरेको छ । सो पसलको अवस्था भने सन्तोषजनक नै रहेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा म्याद सकिएको औषधि भेटिएपछि औषधि जफत गरि कारबाही अघि बढाइएको जानकारी दिए ।

 

औषधि व्यवस्था कार्यालय विराटनगरका फार्मेसी सुपरभाइजर खेमलक्ष्मी निरौलाले दीर्घायु फार्मेसीमा जनावरीमै म्याद सकिएको औषधि बिक्रीका लागि राखिएको पाइएको बताए । यस्तै, अनुगमनको समयमा व्यवसायीसमेत उपस्थित नरहेकाले औषधि व्यवस्था ऐनअनुसार आवश्यक कारवाही अघि बढाइएको उनले जानकारी दिए ।

 

यता, लेटाङ नगरपालिका उपमेयर कृष्णकुमारी निरौलाले अनुगमनका क्रममा औषधि पसलमा कैफियत भेटिनु दुःखद् भएको बताइन् । उनले आगामी दिनमा नगरपालिकाले पनि अझ कडाइका साथ अनुगमनलाई तीव्रता दिन आवश्यक देखिएको बताइन् ।

 

त्यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बजार अनुगमनको कार्यमा स्थानीय तहहरु अझ बढी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । खासगरि लकडाउनपछिको अवस्थामा अझ बढी म्याद गुज्रिएका सामानहरू भेटिने भन्दै उनले यसतर्फ स्थानीय सरकारले निरगारी बढाउनु पर्ने बताए ।