
धनगढीः धनगढी उप-महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ ।




अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले विभिन्न सञ्चार माध्यममा आएको समाचारलाई आधार बनाएर छानविन गर्ने जनाएको हो ।

कार्यालयका सूचना अधिकारी टोपवहादुर विष्टले समाचारलाई आधार बनाएर उजुरी कायम गर्दै छानविन गरिने बताए । ‘धनगढी उप-महानगरपालिकाले राहतमा कुहिएको चामल खरिद गरेको गुनासो आएको छ। चामल खरिदमा अनियमितता भएको आशंका पनि गरिएको छ । हामी उजुरी कायम गरेर छानविन गर्छाै’ उनले भने ।
उनका अनुसार खरिद प्रक्रियामा संग्लन उप-महानगरपालिकासँगै सबै निकायमाथि छानविन हुने छ । धनगढी उप-महानगरपालिकाले २ करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो । ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ ।
सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए । बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप-महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको छ ।
उप-महानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजे सम्म राखेको छ । १४ गते सम्म बोलपत्र दर्ताको समय भएपनि उप–महानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मुल्याङकनमा सफल भईसकेको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको थियो ।
१२ गते नै धनगढी उप-महानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्ण प्रशाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतीका लागि पेश गरेका छन् ।
१३ र १४ गते मध्यान्न १२ बजेसम्म पनि सप्लायार्सले बोलपत्र दर्ता गर्न सक्ने समय भएपनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतीका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमतो भएको आशंका बढेको छ ।