किटको अभावले परीक्षण नै नगरी होम क्वारेन्टाइनमा पठाइयो

बाजुरामा आरडीटी किटको अभाव भएको छ । किट अभावमा जिल्लाबाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ ।

 

बिज्ञापन

१४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रूपमा आरडीटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ । तर, किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो ।

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडीटी परीक्षण नै नगरी घर पठाइएको छ । किट नभएकै कारण बाध्य भएर ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरूलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

 

उनका अनुसार अनिवार्य र्‍यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोहीअनुरुप उनीहरूलाई घर पठाइएको छ ।

 

जिल्लामा किट अभावका कारण २ सातादेखि र्‍यापिड जाँच रोकिएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट १ हजार १६२ नागरिक जिल्ला भित्रिएका छन् ।

 

प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि १ हजार ३ सय मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १ हजार १६० को आरडीटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

 

किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन । भारतबाट आएकालाई र्‍यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ ।

 

होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि सबै परिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ । उसो त क्वारेन्टाइनमा बस्नेको नियमित जाँचसमेत चिकित्सकबाट हुनुपर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन । क्वारेन्टाइनमा बस्नेहरूलाई खानपिन र बसाइको समेत समस्या छ । रासस