नेकपा केन्द्रीय सदस्य भन्छन्, ‘न्यायालयमा हाम्रै मान्छे छन् दासढुंगाको छानविन गरौँ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले दासढुंगा हत्याकाण्डको छानविन अहिले नभए कहिल हुन्छ भन्दै प्रश्न गरेका छन् । मदन-आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आज ट्विट गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

 

न्यायालयमा नेकपाको बाहुल्य रहेको भन्दै नेता रिजालले अब घटनाको छानविन हुनुपर्ने मागसमेत गरेका छन् । ‘मानिसहरू प्रश्न गर्दैछन्, ‘दासढुंगा हत्याकाण्डको छानविन अब पनि नभए कहिले हुन्छ ?’ उनले ट्विटमा भनेका छन्, ‘हुन पनि हो राष्ट्रपति हाम्रै, सरकार हाम्रै, संसद् हाम्रै, न्यायालयमा पनि ‘हाम्रै’ बाहुल्य ।  तर, पनि मदन-आश्रितका हत्यारा पत्ता लाग्दैनन् भने कहिले लाग्छन् ? समाजवादसम्म त निकै ढिला भइसक्ने छ कमरेड !’

 

३ जेठ २०५० मा त्रिशूलीमा भएको जीप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटना अहिलेसम्म पनि रहस्यमय घटनाकारूपमा लिइएको छ ।