भारतमा थप दुई साता लकडाउन बढाउने तयारी

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जाँदा भारतमा लकडाउन थप दुई साता लम्ब्याउने तयारी भएको छ ।

 

कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीबीच करिब चार घण्टा लामो छलफलपछि पुनः लकडाउन बढाउने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षलाई औपचारिकरूपमा घोषणा भने गरिएको छैन ।

 

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

 

उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले बन्दाबन्दीबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आफैंले सार्वजनिक गर्नुहुनेछ ।’

 

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् ।

 

पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० मेसम्म लक डाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई कम्तिमा दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।