धनकुटा अस्पताल सञ्चालनमा ल्याइने, पसल-दोकान तीन घण्टा खुल्‍ने

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकमीलाई गत आइतबार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल सञ्चालमा आउने भएको छ।

 

बुधबार बसेको धनकुटा कोभिड १९ कमाण्ड फोर्सको बैठकले धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पतालमा सेनिटाइजर गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिब जयराम श्रेष्ठले बताए।

 

उनले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सेवा सञ्चालन गरिने बताए।

 

धनकुटा अस्पतालका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नभएसम्म आँखा अस्पतालबाट सेवा सञ्चालन गरिने भएको हो। स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि धनकुटाको डाँडाबजार र जीतपुरबाट केही स्वास्थ्यकर्मी ल्याइने र अन्य स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ।

 

यस्तै, धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए।

 

धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुन दिइने भएको छ।