‘ईद उल फितर पर्वले शान्ति र एकता कायम गर्दै कोभिड-१९ लाई पराजित गर्ने उत्प्रेरणा मिलोस्’

प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

 

यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण यी चाडपर्व खुला र भव्य रूपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपिलसमेत गरेका छन् ।

 

‘विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ-आफ्नै मौलिक संस्कृति र पहिचान छन्,’ मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, ‘नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने ईद उल फितर चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता छ ।’

 

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईद उल फितरजस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्द्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सन्देशमा उल्लेख छ ।

 

‘हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो । यस ईद उल फितर पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस्’ मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।