प्रेमविवाह हुन नदिने वडा अध्यक्षसहित ५ जना पक्राउ

अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका १ युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका–८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विकको हत्यामा वडा अध्यक्षको संग्लनता भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

 

वडा अध्यक्ष मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । ‘घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ’ उनले भने, ‘घटनाका वियषयमा थप अनुसन्धान भइरहेको छ ।’

 

भेरी नगरपालिका-४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका  रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन शनिबार  १९ जना युवासहित गाउँ पुगेका थिए । वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरूले आक्रमण गरेर नवराजको भेरी नदीमा खसालेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको छन् ।

 

दलित अधिकारकर्मीको विरोध

 

रुकुम पश्चिमका दलित अधिकारकर्मीले घटनाको विरोध गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूको विरोध जनाएका हुन् । अन्तरजातीय प्रेम विवाहलाई निस्तेज पार्न र जातीय साम्प्रदायिक भड्काएर सामाजिक सद्भाव बिथोल्ने ढंगले जघन्य अपराधिक हत्या काण्ड भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

 

अधिकारीकर्मीले भेरी नगरपालिका-४ रानागाउँ जाजरकोट निवासी नवराज बिक र चौरजहारी नगरपालिका-८ सोती निवासी सुष्मा मल्ल बीचमा लामो समयदेखि प्रेम सम्बन्ध हुँदै आएको र केटीको आग्रहमा आफ्नो घरमा बोलाएपछि नवराज बिक साथीहरूसहित चौरजहारी आएको अवस्थामा बीच बाटोमै केटी तर्फका मानिसले सांघातिक आक्रमण गरेपछि नवराज विकलगायत २ जनाको शव भेरी नदीमा फेला परेको छ भने ४ जना बेपत्ता पारिएको उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।

 

देश धर्म निरपेक्ष राज्य र छुवाछुत मुक्तराष्ट्र घोषणा भइ संवैधानिक तथा कानुनी व्यवस्थामै सजायको व्यवस्था गरिसकेको र जनयुद्धको तुफानी केन्द्रले परिचित जिल्लालाई जातीय छुवाछूत मुक्त तथा सामाजिक सद्भावयुक्त नमुना जिल्ला बनाउने अभियान विगत एक दशकदेखि संचालन भइसकेको परिप्रेक्षमा यस्ता खाले हत्याकाण्ड हुनु घोर अमानवीय र निन्दनीय भनेका छन् ।