अस्पतालले भर्ना नगरेपछि कैलालीका पाँच जना संक्रमित मन्दिरको हलमा

कैलाली : आइसोलेसन वार्ड अभाव भएको भन्दै सेती प्रादेशिक अस्पतालले कैलालीका पाँच जना कोरोना संक्रमित व्यक्तिलाई भर्ना नगरी फिर्ता पठाएको छ ।

 

बिज्ञापन

मंगलबार राति अस्पतालमा पुर्याइएका जिल्लाको गौपरगंगा नगरपालिकाका पाँच जनालाई अस्पतालले आइसोलेसन वार्ड अभाव भएको भन्दै भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

 

नगर प्रमुख देउवाका अनुसार अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ ।

 

नगर प्रमुख देउवाले भने–‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ । अब के गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।’

 

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए ।

 

मेयर देउवाका अनुसार स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको छ ।