
यस्ता ठाउँमा कहिल्यै नबस्नुस्
जुन देश (ठाउँ) मा आदर छैन, न जीविकाको माध्यम छ, न इष्टमित्रहरू नै छन्, न आफूले पढेको विद्या र जानेको सीपबाट आर्जन हुने बाटो नै छ; त्यहाँ एकछिन पनि बस्न उचित नहुने नीतिकार चाणक्य बताउँछन्।
जीविकाको माध्यम, भय, लज्जा, अनुकूलता र प्राकृतिक स्रोत नभएको स्थानमा पनि बस्नु हुँदैन। यस्तै धनी मानिस, नागरिकको पीरमर्का बुझ्ने राजा (शासक), नदी र वैद्य; यी पाँच कुरा जहाँ छैनन्, त्यो स्थान पनि बस्न उचित हुँदैन।
बरु बाघ र ठूल्ठूला हात्ती भएका जंगलमा बस्नु, त्यहाँ भेटिने फल–पात–झार खानु, पानी पिउनु, घाँसलाई बिछ्यौना बनाएर सुत्नु, रुखको बोक्रा लगाउनु राम्रो; इष्टमित्र, आफन्तका नजिक धनहीन भएर बस्नु राम्रो होइन।