प्रदेश–१ काे नेतृत्व निर्वाचनबाट छान्दै माओवादी

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। जारी प्रदेश अधिवेशनमा पदाधिकारीमा सहमति हुन नसकेपछि माओवादीले निर्वाचन गर्न लागेको हो। पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो। धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन गर्न नसकेपछि अन्ततः चुनावी प्रक्रियामा जाने तयारी भएको छ।

पार्टीको विराटनगर, तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा अध्यक्षसहितका पदाधिकारीका आकांक्षीले मत माग्न थालेका छन् । प्रदेश कमिटीको अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । तीन उपाध्यक्षका लागि एक दर्जनभन्दा धेरै र एक सचिवका लागि ६ जनाभन्दा धेरैले दाबी गरिरहेका छन्। आकांक्षीले सामाजिक सञ्जालमार्फत यसअघि नै मत माग्न थालेका थिए। चुनावी प्रक्रियामै जाने भएपछि पार्टी कार्यालयमा भेला भएका मतदातासँग पनि मत माग्न थालेका हुन् ।

बिज्ञापन

यो दौडमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ र मोहनकुमार खत्री रहेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) लगायत छन् । सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले दाबी प्रस्तुत गरेका छन् । सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

कोषाध्यक्षमा सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । माओवादी केन्द्रको विधानानुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ ।गत मंसिर २५-२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो। २७१ जनाले अब प्रदेश पदाधिकारीको लागि मतदान गर्ने छन्।