
नेपालबाट असारको ७ गते सूर्यग्रहण देखिदै छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग,भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिने छ ।
ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उनले बताए।
शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र सो सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका गौतमले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन।
राशीअनुसार कसले हेर्न हुन्छ,कसले हुँदैन ?
असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । सूर्यग्रहणको फल राशिअनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।
कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?
खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानी सहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समय समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट बिहान १०ः५३ः५८ मा शुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नं. १ को विराटनगरबाट बिहान १०ः५८ः४५ शुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ। यसैगरी प्रदेश नं. २ को जनकपुरबाट बिहान १०ः५५ः०१ शुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ। वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा शुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा शुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ। प्रदेश नं। ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा शुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा शुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा शुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताए।
पौराणिक ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ ।
ग्रहणअघि सुतक लागेपछि यी कुराहरुमा ध्यान राख्नु जरुरी हुन्छ –
१. ग्रहणको समयमा गर्भवती महिलाले तरकारी काट्ने वा कपडा सिलाउनेजस्ता काम गर्नुहुँदैन । यस किसिमको कामले गर्भमा हुर्किँदै गरेको बच्चामा शारीरिक दोष हुने आशंका हुन्छ ।
२. सुतक कालमा खाना पकाउने, खाने, श्रृङ्गार गर्ने र सुत्न पनि वर्जित मानिएको छ ।
३. ग्रहण सकिएपछि गर्भवती महिलाले स्नान नगरे बच्चामा चर्मरोग देखिनसक्छ ।
४. ग्रहणको समयमा कुनै शुभ वा नवीन कार्य गर्नुहुँदैन । यो कार्य पूरा हुने सम्भावना कम हुन्छ ।
५. ग्रहणको समयमा आफ्ना आराध्य देवको नाम स्मरण गर्नु राम्रो मानिन्छ । यो क्रममा कुनै देवी–देवताको मूर्ति वा तस्वीर, तुलसी र शमीको बिरुवालाई छुनुहुँदैन ।
६. ग्रहण सकिएपछि स्नान गरेर स्वच्छ वस्त्र लगाउनुपर्छ । ग्रहणको समयमा लगाएको वस्त्र नुहाएपछि लगाउनु हुँदैन ।
७. पौराणिक मान्यताअनुसार ग्रहणको क्रममा अन्नको जति दाना खाइन्छ, त्यति वर्षसम्म व्यक्तिले नरकको कष्ट भोग्नुपर्छ ।