
काठमाण्डौ। कुवेतबाट स्वदेश फर्किन प्रतिक्षारत १५० जना महिलाहरु आज स्वदेश आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १५० जना महिलालाई कुवेत सरकार आफैंले ल्याइदिएको हो । आजै सिंगापुर, बंगलादेश र थाइल्याण्डबाट पनि नेपाली स्वदेश फर्किदै छन् ।

कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ । यसअघि तीन उडानमार्फत ४ सय ४८ जना नेपाल आइसकेको छन् ।



कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क मिनाहा गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको छ । कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने जनाएको थियो ।
कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेकागरि २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । तर आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ ।
यस्तै आजै बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सिंगापुरबाट कति नेपाली फर्कन्छन् भन्ने विवरण आइसकेको छैन । १५० जना फर्कन सक्ने जानकारी आएको उहाँले बताउनुभयो ।
सरकारले विभिन्न ३० देशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कुवेतबाट भने त्यहाँ आममाफी सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले नेपालसम्म निःशुल्क ल्याइदिएको हो ।