
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पछिल्लाे समय सर्वाधिक सार्वजनिक बहस र चासोमा रहेको अमेरिकी परियाेजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) का विषयमा पार्टीका संघीय सांसदहरुसंग छलफल कार्यक्रमको आयोजना गरी यसबारे वहस गरेको छ ।
बुधबार भिडियाे कन्फरेन्समार्फत आयोजित कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठान प्रमुख एवं केन्द्रीय उपसभापति विमलेन्द्र निधिले एमसीसीको विषयलाई फरक-फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकोले यसबारे नेपाली कांग्रेसका सांसदहरू, पार्टीका सदस्यहरू र सिंगो पार्टी पंक्ति स्पष्ट हुनुपर्ने विचार प्रकट गर्नुभयो ।
विसं. ०४८ पछि अरुण ३ का विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै अन्तिममा दुई दशकपछि कुनै भारतीय कम्पनीलाई आयोजना जिम्मा दिएको तथ्यलाई भुल्न नहुने भन्दै निधिले त्यसबेला अरुण ३ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने तर्क गर्नुभयाे । अहिले एमसीसीलाई पनि त्यस समयको अरुण ३ जस्तै बनाउन खोजिएको हुनाले यसमा नेपाली कांग्रेस गम्भीर रहेकाे निधिले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुहुने तत्कालीन अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रको विकासका लागि, राष्ट्रको हित प्रवर्द्धनका लागि र अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सबल गराउनका लागि एमसीसी सम्झौता भएको बताउनुभयाे । उहाँले त्यसमा कुनै पनि हालतमा राष्ट्रको स्वाभिमानमा आँच आउने काम नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनतासामु स्पष्ट गर्दै नेपाली कांग्रेस अघि बढ्नुपर्ने विचार प्रकट गर्नुभएको थियो । पार्टी सचेतक पुष्पा भुसालले पनि नेपालको आवश्यकता र स्वार्थ अनुरुप भएका विषयहरुमा बखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै मुलुकको अहित भइरहेको धारणा राख्नुयो ।
कार्यक्रममा एमसीसीका विषयमा योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा. गोविन्द पोख्रेल र डा.स्वर्णिम वाग्लेले समग्र पक्षको चिरफार गर्नुभएको थियो । केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको विषय सन्दर्भ बारे प्रतिष्ठानका सदस्य राजु नेपालले सहजीकरण र नानुमैयाँ वाँस्तोलाले संयोजन गर्नुभएको पार्टी प्रवक्ता प्रकाश शर्माले जानकारी दिनुभयाे ।