सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोना विरुद्धको खोप

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ ।

प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताउनुभयो । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भन्नुभयो, ‘‘आउने पुस महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडना खोप दिने तयारी छ ।’’ पछिल्लो महिनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्ने गरी भइरहेका गतिविधिबाट कोरोना सङ्क्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘कोरोनाको जोखिम नहटिसकेको भए पनि दल आफैँले भीडभाड गरेर कोरोनाको जोखिम निम्त्याइरहेका छन् ।’

’ कोरोनाको नयाँ रुप ‘ओमिक्रोन’ को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण भएको पुष्टि भएको पाइएको छैन ।

सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शङ्कास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्क्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किनुभएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ । रिङ्गटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको सङ्क्रमणपछि निको हुनु भएका धनगढीका एक जना शिक्षकले बताउनुभयो । कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ ।

उहाँले भन्नुभयो, ‘‘उपचार व्यवस्थापनपछि घर फर्किएकामा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’’ रोगको सङ्क्रमणपछि भएको हैरानीले मानसिक तनाव सिर्जना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिङ्गटा लाग्ने, शरीरका अङ्ग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो । नमूना परीक्षण गरिएका मध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

तराईका कैलाली र कञ्चनपुर जिल्ला यो रोगको सङ्क्रमणबाट बढी प्रभावित भएका छन् । यो रोगको सङ्क्रमण फैलिएयता हालसम्म ६१२ जनाको मृत्यु भएको छ । गएको वैशाख जेठ महिनामा यो रोगको सङ्क्रमण र मृत्यु दर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । यसैबीच सामाजिक विकास मन्त्रालयले भीडभाड हुने कार्यक्रम नगर्न, मास्क सही तरिकाले प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, सङ्क्रमित क्षेत्रबाट आएकालाई कम्तीमा पनि १० दिनसम्म क्वारेन्टिनमा बस्न र कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।