
काठमाडौँ — कोभिड–१९ प्रभावका कारण एसियाली मुलुकको यो वर्ष आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । एडीबीले अप्रिलमा यो क्षेत्रको औसत आर्थिक वृद्धिदर २.२ प्रतिशत हुने अनुमान गरेको थियो । एडीबीले आफ्नै पूर्वानुमान संशोधन गर्दै यो क्षेत्रमा सन् १९६१ यताकै कमजोर आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
सन् २०२१ मा यो क्षेत्रका मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । हङकङ, चीन, कोरिया, सिंगापुरसहित नव औद्योगिकीकरण भएका मुलुकको औसत आर्थिक वृद्धिदर भने ०.४ प्रतिशत हुने र आगामी वर्ष ६.६ प्रतिशत पुग्ने एडीबीको आकलन छ ।
‘एसिया र प्रशान्त क्षेत्रका केही मुलुकमा लकडाउन केही खुकुलो भएर अवस्था सामान्य भए पनि अर्थतन्त्रमा पर्ने प्रभाव भने कायमै रहन्छ,’ एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावादालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘यो वर्ष कमजोर आर्थिक वृद्धिदर हुने भएकाले आगामी वर्ष वृद्धिदर बढी देखिनेछ ।’
कोभिड–१९ का कारण देशहरूको ऋण बढ्ने र आर्थिक संकट आउन सक्ने पनि एडीबीको अनुमान छ । चीन–अमेरिकाबीचको व्यापार युद्ध पनि थप बढ्न सक्ने एडीबीले प्रक्षेपण गरेको छ ।
पूर्वी एसियामा यो वर्ष आर्थिक वृद्धिदर १.३ हुने एडीबीको अनुमान छ । एसियामा सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने यो उपक्षेत्र हो । आगामी वर्ष पूर्वी एसियाको औसत आर्थिक वृद्धिदर ७.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । एडीबीले अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणमा यो क्षेत्रमा यो वर्ष २.३ प्रतिशत र आगामी वर्ष ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।
दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर भने औसत १.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । यसअघि अप्रिलमा एडीबीले यो क्षेत्रमा यो वर्ष ४.१ प्रतिशत औसत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । दक्षिण पूर्वी एसियामा आर्थिक क्रियाकलाप २.७ प्रतिशतले घट्ने एडीबीको अनुमान छ । यो क्षेत्रका इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्डजस्ता पर्यटनमा आश्रित अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदर नकारात्मक हुने एडीबीले जनाएको छ ।