गौरादह नगरपालिकामा एउटै सडकमा चार पटक बजेट खन्याउदा पनि उपलब्धि शुन्य , करिब १९ लाखको अनियमितता

झापा: गौरादह नगरपालिका भित्र आर्थिक चलखेलको अर्को तथ्य बाहिरिएको छ । एउटै सडकलाई ५ पटक सम्म बजेट छुट्याएर करिब १९ लाख बराबरको अनियमितता भएको रहस्य खुलेको हो । बजार बाट किश्ने खोला तर्फ जाने सडकमा  ५ पटक सम्म बजेट खन्याएर अनियमितता गरेका हुन्  ।

 

डिपुचोक देखि कोरोबारी जोड्ने उक्त सडक पिचको जिम्मा डिभिजन सडक कार्यालय दमकले लिइसकेको छ । करिब ३ वर्ष देखि देखि निर्माणाधीन अवस्थामा रहेको छ ।  सोही सडकमा माटो पुर्न भन्दै १० लाख, पिपलका रुख काट्न ५० हजार, डिभाइडर बनाउन ८ लाख खर्च गरेको कागजात तैयार गर्दै  अनियमितता गरेको पाइएको छ ।

 

सोही सडकको बारेमा विगत १ महिना देखि ओमकार टाइम्सले निरन्तर फलोअप गर्दै आएको छ । अनावश्यक रूपमा डिभाइडर निर्माण गरिएको र निर्माण भइसकेको  ढल पुरेर बिबादास्पद बनेको उक्त सडकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान समेत सुरु गरिसकेको छ ।

 

एउटै सडकको लागि अनेकौं शिर्षक बनाएर बजेटको दुरुपयोग गरिएको देखिन्छ भने यसमा क-कसको मिलेमतो छ भन्ने विषय थप गम्भीर देखिएको छ । उक्त सडकले वडा नं. १ र २ लाई छुट्याएको छ ।