
पर्सा, बझाङ, कञ्चनपुर, प्युठान र मकवानपुरमा पाँचजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने श्याम बाबुप्रसाद कलवारकी छोरी १४ वर्षीया महिमा गुप्ताको बुधबार शव फेला परेको छ । सोही ठाउँस्थित छप्कैयाघाटमा छोरीको हत्या गरी शव जलाई रहेको भन्ने खबर हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त घाटमा चिता जलिरहेको अवस्थामा शव फेला परेको हो ।प्रहरीले अनुसन्धानका लागि महिमाको परिवारका ३ जना सदस्यलाई नियन्त्रणमा लिएको छ भने हाल फेला नपरेका श्याम बाबु समेत २ जनाको खोजी गरिरहेको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–७ धम्नाउबाट चुलिटीका जाने बाटोमा धम्नाउ बस्ने ५८ वर्षीय जोगगिरी बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।कञ्चनपुरको भिमदत्त नगरपालिका–९ खल्लास्थित महाकाली नदीको किनारमा हाल पहिचान नखुलेकी १९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । प्युठानको प्युठान नगरपालिका–७ झिमरुक खोलाको बगरमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।