
झापा । पछिल्लो समय सामाजिक सञ्जालहरुमा पातमा बनाईएको स्केच अर्थात लिफ आर्टले चर्चा कमाईरहेको छ। फेसबुक मात्र नभएर इन्स्टाग्राम, टिकटक र ट्विटरमा अहिले लिफ आर्टको लोकप्रियता बढ्दै गएको देखिन्छ ।
सामाजिक सञ्जालमा सर्वाधिक चर्चा पाइरहेको यहि लिफ आर्ट श्रृजना गर्नेमध्येका एक हुन, बिराज भण्डारी। बिराजले पछिल्लो समय बनाएको लिफ आर्टले चर्चा कमाईरहेको छ ।
उनले भने, ‘पहिला पेन्सिल स्केचहरु बनाउँथे। एकदिन एउटा बुद्धको लिफ आर्ट बनाएको video हेरेँ, कसरी बनाउँछन जस्तो लागेको थियो। साथीहरुले पनि बनाउँदा राम्रै हुन्छ भन्ने सल्लाह दिए र बनाए । सबैले राम्रो भनेर हौसला र तारिफ गर्नुभयो। एकदमै खुसी छु।’ अहिले यो आर्टबारे धेरैबाट राम्रो प्रतिक्रिया पाएको उनी बताउँछन् । थप अरु आर्ट गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुझाव दिएको पनि उनी बताउँछन् ।
जुम्ला घर भएर झापा बस्दै आएका बिराज सामाजिक सञ्जालमा सक्रिय थिए । आफ्नो आर्टमा रुचि भएकाले पनि उनी आर्टको पेजलाई फलो गर्थे । आफूले बनाएको आर्टहरु पनि उनले पोस्ट गर्थे । त्यत्तिकैमा एकदिन उनले निरज अर्यालले पिपलको पातमा बनाएको आर्ट देखे । यसले उनको ध्यान केन्द्रित गर्यो । उनलाई पनि बनाउने रहर लाग्यो । पिपलको पातमा आर्ट गरेको उनले देखेका थिए । ‘आर्ट गर्नको लागि पिपलको पात भेटिएन,’ उनी सुनाउछन्, ‘मकैको पातमा आर्ट गर्न कोशिस गरेँ । पहिलोपटक बनाउन लागेको कस्तो हुने हो, बिग्रने पो हो की भन्दै बनाउने प्रयास गरें, ठिकै भएको थियो । त्यसपछि पिपलको पातमा बनाउन थाले ।’ एउटा बनाउँदा चित्तबुझ्दो बनेपछि उनी फेरी अर्को बनाउथे । निरन्तर अभ्यास गर्दा अहिले राम्रा राम्रा लिफ आर्टहरु बनेको उनले बताए ।
झापा स्थित गौरादह कृषि क्याम्पसमा अध्ययन गर्छन बिराज । उनी त्यस क्याम्पसको अनेरास्ववियू अध्यक्ष पनि हुन्। अहिले लकडाउनले गर्दा आफ्नै घर जुम्लामा छन्। ‘घरमा बस्दा लिफ आर्ट बनाउने प्रयास गरेँ, ठिकै भयो। अहिले उत्साहित छु। पहिलेपहिले बिहान अबेरसम्म सुत्ने मान्छे अहिले बिहान सबेरै उठेर लिफ आर्ट बनाउन थाल्छु।’ उनले सुनाए। आफुले पिपल, ओखर,अंगुर र मकैको पातमा आर्ट बनाउने गरेको बताउँछन् ।
लिफ आर्ट हेर्दा धेरै आर्कषक देखिएपनि यसलाई बनाउन र यसको सुरक्षित राख्न गाह्रो हुने उनले बताए । उनले अहिलेसम्म विभिन्न जनावर, चराचुरुङ्गी , नक्सा लगायतको स्केछ बनाईसकेका छन्। आफ्नो गाउँघरमा लिफ आर्टलाई अनोठौ रुपमा लिने गरेकोले परिवारले धेरै सहयोग गरेको उनले बताए ।
बिराजलाई पातमा कुनैपनी चिजको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोर्छन् । त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै आकृति बनाइदिन्छन् । उनले बनाएका चित्र पृष्ठभूमि सेतो राखेर वा आकासतर्फ फर्काएर हेर्दा प्रष्ट देखिन्छन् । हेर्नुहोस् उनले पिपलको पातमा बनाएको केही चर्चित व्यक्तिहरुको चित्र ।