
काठमाडौ । ट्राफिक नियम उल्लंघन गरेको भन्दै बुधबार बिहान सिंहदरबार पूर्वी गेटमा गृह मन्त्रालका एक उच्च अधिकारीको गाडीमा ह्वील लक लगाउने ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले धन्यवाद दिएको छ ।
गाडी लक गरेपछि गृह मन्त्रालयको ठाडो निर्देशनमा महाशाखा बाेलाइएका उनीलाई महाशाखाले भने उल्टै धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको छ ।
मन्त्रालयको बा२झ ४३८८ र बा२झ ३४६ नम्बरको गाडी कारबाहीमा परेपछि गृहको दबाबमा महाशाखा बाेलाइएका ती ट्राफिकले महाशाखाका उच्च अधिकारीसामु बिहानको घटनाबारे जाहेर गरेका थिए ।
घटना सुनेपछि महाशाखका उच्च अधिकारीहरुले भने ट्राफिक नियम पालना गराउनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कामको प्रशंसा गरेको हो ।
समाचार प्रकाशित भएलगत्तै गृहका उच्च अधिकारीले ट्राफिक महाशाखामा फोन गरेर मन्त्रालयको गाडीमा लक गर्ने ट्राफिकलाई सूचना चुहाएको भन्दै बोलाएर सोधपुछ गर्न दबाब दिएको थियो ।
मन्त्रालयको दबाबमा परेको महाशाखाले लक लगाउने ट्राफिकलाई बोलाएर सोधपुछ गरेको महाशाखाका एक अधिकारीले बताए । ती ट्राफिक प्रहरीको कुरा सुनेपछि भने महाशाखाले भने ट्राफिक नियम पालना गराएको भन्दै धन्यवादसहित कामको प्रशंसा गरेर कार्यक्षेत्रमा पठाएको महाशाखाले जनाएको छ ।
गाडी प्रवक्ताको नभई प्रदेश समन्वय शाखा प्रमुखको
ट्राफिक प्रहरीले लक गरिदिएको गाडी गृह मन्त्रालयअन्तर्गतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा लक गरेको समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशन भएलगत्तै गृहका अधिकारीले प्रवक्ताको नभई गाडी सो शाखाले प्रयोग गरिरहेको जनाएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार उक्त गाडी आवश्यकताअनुसार सबै शाखा र महाशाखाका प्रमुखले चढ्दै आएका छन् ।
जरिमाना तिर्छौंः कर्मचारी
गृह मन्त्रालयले ट्राफिक नियम उल्लंघनमा परेबापतको जरिमाना भने तिर्ने प्रतिबद्धता जनाएको छ । कारबाहीमा परेर लक भएको गाडीलाई ट्राफिकले १ हजार रुपैयाँ जरिमाना गराएको थियो ।
गाडी गृह परिसरमै
बिहान ट्राफिक प्रहरीको कारबाहीमा परेको गाडी अहिले गृह मन्त्रालय परिसरमा राखिएको छ । नियमबमोजिमको जरिमाना तिरेर गाडी मन्त्रालयमै फिर्ता ल्याइसकिएको गृहका अधिकारीले जनाएका छन् ।