
सिन्धुलीमाढी : मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन ।
कमला नदीमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा दुधौली नगरपालिका २, रतनपुरका बासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षात्को समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयवासी पुलको पिलर हेरेर अर्को वर्ष त बन्ला भन्दै चित्त बुझाउँदै आएका छन् ।
स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिलर धसिँदै गएका छन् । शक्ति केन्द्रको आडमा विभिन्न ठेक्का हत्याउने र कामै नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धिमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने भन्ने टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो ।
उहाँका अनुसार तामझामका साथ शिलान्यास भई काम सुरु भएको पक्की पुलले कमलापारिका बासिन्दालाई हर्षित बनाएको थियो । यतिका वर्षसम्म पनि पुलको काम आधा पनि सकिएको छैन । विश्व बैङ्कको सहयोगमा ३२ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको ५४६ मिटर लम्बाइको उक्त पुलको पिलरको काम सकिएको सात वर्ष बितिसकेको छ ।
हेटौँडा–सिन्धुली–गाईघाट–चतरा (मदन भण्डारी लोकमार्ग) वैकल्पिक सडक खण्डअन्तर्गत पर्ने उक्त पुल डबल लेनको छ । दुधौली नगरपालिका प्रमुख घनश्याम राउत निर्माण कम्पनीलाई ताकेता गर्दा गर्दा आजित भएको बताउनुहुन्छ । ‘एउटाले काम गरेन भनेर अर्कालाई जिम्मा दिएको, कामको गति उस्तै छ,’ उहाँले भन्नुभयोे, ‘हामीले अब एक वर्षभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्न भनेका छौँ । ’
सडक आयोजनाका अनुसार २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरेको थियो । उनीहरूको आन्तरिक सहमति अनुसार उक्त पुल निर्माण भने पप्पु कन्स्ट्रक्सनले एक्लै गर्दै आएको थियो । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकी अलपत्र बनाएपछि जेभीमै रहेको लुम्बिनी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको थियो ।
लुम्बिनी कन्स्ट्रक्सनका शङ्कर राउतका अनुसार पुल निर्माणको काम अहिले ७० प्रतिशत सकिएको छ । लकडाउनको घोषणासँगै भारतबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउन नपाएर निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो ।
ठेकेदार राउतका अनुसार पुलका १४ वटा स्पानमध्ये छवटाको काम सकिएको छ । दुईवटा स्पानको आधा मात्रै काम भएको छ भने अरू छवटा स्पानमा काम नै सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।