काठमाडौंमा मनाइयो भारतको ७६ औँ स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो ।

भारतीय झन्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी छन् ।

बिज्ञापन

भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन् ।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो ।