
सुनसरी — नेपाल भारतको सीमावर्ती क्षेत्र पर्ने सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा शुक्रबार राति सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ । यसअघि बिहीबार राति देवानगन्जमा तस्कर र प्रहरीबीच गोली हानाहान भएको थियो ।
घुस्कीमा भएको झडपमा तस्करहरुको आक्रमणमा सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । सशस्त्र प्रहरीको गोली पेटमा लागेर घुस्कीकै स्थानीय युवा सवाज अन्सारी घाइते भएका छन् ।तस्करको पेटमा लागेको गोली पछाडि ढाडबाट निस्किएको छ ।
घाइते दुवैलाई तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकोमा अन्सारीको अप्रेसन गर्ने तयारी भइरहेको छ । सशस्त्र प्रहरी विशंखेलाई पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा लगेर उपचार भइरहेको सशस्त्र प्रहरी बल सुनसरीका एसपी कृष्ण ढकालले बताए ।
सशस्त्र प्रहरी बलका एसपी ढकालका अनुसार राति करिब ९ बजे घुस्कीमा आठ–नौ जनाको समूहले भन्सार छली र तस्करी गरेर ल्याएका सामान नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेका थिए । उनीहरुले सशस्त्र प्रहरीका टोलीले बोकेको हतियार खोस्ने प्रयास गर्दै बाँसको भाटा, इँटा ढुंगालगायतले आक्रमण गरेको एसपी ढकालले बताए ।
उनले भने, ‘भारतीय सिमाबाट तस्करीको सामान लिएर आउँदा सशस्त्रले रोकेपछि उनीहरु जाइलागे । हाम्रो हतियार नै खोस्न खोज्दा तानातान भयो । स्थिति नियन्त्रण गर्न र तर्साउनका लागि सशस्त्रका जवानले हतियार कक गर्दा पनि उनीहरुले छोडेनन् । तानातान हुँदा गोली चलेर एक जनाको पेटमा लाग्यो ।’
तस्कर र सशस्त्रबीच झडप भएको जानकारी पाउनासाथ एसपी ढकाल घटनास्थल पुगेर राति १ बजे डीएसपीको कमान्डमा थप ८० जना सशस्त्र प्रहरी छोडेर फर्किएका थिए । घटना हुँदा एकजना सहायक निरिक्षकको कमान्डमा १० जनामात्र सशस्त्र प्रहरी थिए ।