मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

बिज्ञापन

२४ घण्टाको अवधिमा थप ६०९ जनाले कोरोना भाइरसलाई जितेका छन् । यसरी कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १२ हजार ४७७ पुगेको छ । हालसम्म ६९.३४ प्रतिशतले कोरोना भाइरस संक्रमणलाई जितेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ७०४ जना रहेको छ भने ५ हजार ४७७ जना सक्रिय संक्रमितको देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।