
आईपीएल/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जीत निकालेको छ ।
दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जीत निकालेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जीत दिलाउन सकेनन् ।
यस्तै जोनी बेयरस्टोले २३, प्रियम गार्गले १६, विजय शंकरले १२ रन बनाए भने राशिद खानले १४ रन जोडे ।
चेन्नईका कर्ण शर्मा र ड्वेन ब्राभोले २–२ विकेट लिए भने साम कुरान, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए भने अम्बाती रायडुले ४१, साम करनले ३१, कप्तान महेन्द्र सिंह धोनीले २१ र रबिन्द्र जडेजाले अविजित २५ रन बनाए ।
हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २–२ विकेट लिए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । पाँचौ स्थानमा रहेको हैदराबादको ८ खेलमा ६ अंक छ ।