दशैंको बिदा घटस्थापनादेखि दिन सुझाव

काठमाडौं : विभिन्न मन्त्रालयका सचिवहरुले यस वर्ष दशैंको विदा घटस्थापनादेखि दिन सुझाव दिएका छन् ।

कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि उनीहरुले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर दशैंको बिदा घटस्थापनादेखि दिन सुझाव दिए ।

मन्त्रालयका कर्मचारीमासमेत संक्रमण देखिन थालेको भन्दै सचिवहरुले कार्तिक १ गते परेको घटनस्थापनादेखि नै बिदा दिन सुझाव दिएका हुन् । सरकारले तोकेको दशैं बिदा भने फूलपाती (कार्तिक ७) गतेदेखि एकादशी (कार्तिक ११)सम्म छ ।

तर, एक साता अघिदेखि नै यस वर्ष दशैंको बिदा दिन सचिवहरुले सुझाव दिएका छन् । मन्त्रीदेखि विभिन्न मन्त्रालयका कर्मचारी, तथा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारमासमेत कोरोना संक्रमण देखिएकाले सचिवहरुले घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका हुन् । यस वर्ष दशैंको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १०ः१९ बजे छ ।