राजा देखेपछि दार्जीलिङेले भने: पूर्वजन्मको सतकर्मले साक्षात विष्णुको अवतारको दर्शन भयो

भारत भ्रमणको क्रममा दार्जीलिङ पुग्नु भएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले त्यहाँका विभिन्न ठाउँहरुको अवलोकनमा निस्किनु भएको छ।

दार्जीलिङमा सुरक्षाकर्मीको घेरा बिनै आँफू पढेको सेन्ट जोसेफ स्कूल नर्थ पोइन्टको अवलोकन गर्न पैदल निस्कनु भएका शाहलाई हेर्न ठूलो नै घुइचो लागेको थियो।एक्कासी शाहलाई आँफूहरु माझ देख्दा दार्जीलिङवासी दंग परेका थिए।

बिज्ञापन

दार्जीलिङको डिएस टिभीका प्रमुख सम्पादक मिलन क्षेत्रीले महाराजधिराज दार्जीलिङ आउँदा आँफूहरुलाई अत्यन्तै खुसी लाग्ने गरेको बताउनु भयो। भगवान विष्णुको साक्षात स्वरुप आफ्नो ठाउँमा आउँदा हर्षविभोर भएको पनि उहाँले बताउनु भयो।

‘हामीले पूर्व जन्ममा असल कर्म गरेको फलस्वरुप नै आज साक्षात भगवान विष्णुको दर्शन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको रूपमा पाएका छौं,’ उहाँले भन्नु भयो।

त्यस्तै, अहिले एउटा भिडियो पनि नेपालमा भाइरल भइरहेको छ जहाँ शाहले आँफूलाई हिन्दी नआउने बताउनु भएको छ। स्थानीय सञ्चार माध्यमका पत्रकारले उहाँलाई हिन्दीमा प्रश्न सोधेपछ आँफूलाई हिन्दी नआउने शाहले बताउनु भएको हो।

पत्रकारको प्रश्न थियो, ‘इस बार हिन्दुस्तान सफर मे विशेष केही थियो?’तर शाहले सुरुमा हातको इशारा गरेर त्यसपछि अंग्रेजीमै, ‘आइ डन्ट नो हिन्दी’ भन्नु भयो।त्यसपछि पत्रकारले नेपालीमा नै प्रश्न गर्छन। र त्यसको उत्तर शाहले नेपालीमा नै दिनु भएको छ।पत्रकारले अर्को प्रश्न पनि गर्छन। ‘नेपाल र हिन्दुस्तान केही राजनीतिक ‘डिस्टर्बेन्स’ देखिएको छ, त्यसबारे केही बोल्नु हुन्छ?’शाहको उत्तर थियो, ‘नो! आस्क दोज हु आर कन्सर्नड'(अह! उनीहरुलाई सोध जो त्यसमा संलग्न छन्।)

भारतीय सञ्चार माध्यमलाई नेपालमा नै बोलाएर हिन्दीमा अन्तर्वार्ता दिएर चर्चा कमाएका प्रधानमन्त्री केपी शर्मा ओली, केहि दिनअघि भारतमा हिन्दीमा नै अन्तर्वार्ता दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र प्रधानमन्त्रीका रुपमा पहिलोपल्ट भारत भ्रमणका क्रममा हिन्दीमा नै अन्तर्वार्ता दिएका पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पूर्व महाराजधिराजबाट केही सिक्नु पर्ने भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरु आइरहेका छन्। त्यति मात्र होइन राष्ट्रियता नेतामा भन्दा राजामा नै बढी हुने किसिमका आशय बोकेका टिप्पणीहरु पनि देखिएका छन्।

शाहले दार्जिलिङ्ग आराम गर्नमात्र आएको बताउनु भएको छ। उहाँले सम्पूर्ण दार्जिलिङ्गवासीलाई शुभकामना पनि व्यक्त गर्नु भएको छ। ‘म यहाँ छुट्टी मनाउन यहाँ आएको हुँ। सबैलाई शुभकामना दिन यहाँ आएको हुँ। सबै दाजुभाइ दिदी बहिनीलाई, दार्जिलिङ्गवासीलाई हाम्रो शुभकामना छ,’ उहाँले भन्नु भयो।